कङ्ग्रेसको विधानविपरीत विष्णुलाई सभापति बनाएकोमा पौडेलको आपत्ति 

काठमाडौँ। नेपाली कङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले नेता विष्णु पौडेललाई विधानविपरीत नवलपरासी जिल्लाको सभापतिमा मनोनयन गरेको भन्दै आपत्ति जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको पौडेल समूहको बैठकले पार्टीको विधानअनुसार सभापति देउवाले केही दिनअघि पदमुक्त गरेको नेता अर्जुन पोखरेललाई नै पुनर्स्थापित गर्न माग गरेको छ। बैठकले पोखरेलको पुनर्स्थापनाका लागि महामन्त्री डा.शशाङ्क कोइरालाले सभापति देउवालाई लिखित पत्रसमेत पठाउने निर्णय गरेको छ।

विधानको धारा ५० को ८ मा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, नगरपालिका कार्यसमिति, गाउँपालिका कार्यसमिति, नगरपालिका, गाउँपालिका, वडा कार्यसमिति, टोल कार्यसमितिका सभापतिहरूको मृत्यु वा राजीनामाको कारणले पद रिक्त हुन गएमा सम्बन्धित समितिका उपसभापति कार्यवाहक सभापति हुने उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठक सकियोः प्रतिनिधिसभाको अधिवेशन अन्त्य

यस्तै उक्त बुँदामा ‘उपसभापति नभएको अवस्थामा सम्बन्धित कार्यसमितिले कार्यवाहक सभापतिको चयन गर्नेछ। यसरी रिक्त हुन आएको सभापति पदमा ६ महिनाभित्र विधान बमोजिम निर्वाचन गरी पदपूर्ति गरिनेछ। सम्बन्धित तहको अधिवेशन तोकिएको अवस्थामा वा महाधिवेशन तोकिसकिएको अवस्थामा वा ६ महिनाभित्र महाधिवेशनको मिति तोकिएमा सभापतिका लागि अलग्गै निर्वाचन गर्नुपर्ने छैन।’ भनी उल्लेख गरिएको छ।

सभापति देउवाले केही दिनअघि कार्यवाहक सभापति पोखरेललाई हटाएर पौडेललाई सभापतिको जिम्मेवारी दिएका थिए। सभापति देउवाले आफ्नो हितमा काम नगरेको आरोप लगाएर पोखरेललाई जिम्मेवारीबाट हटाइएको पौडेल समूहको आरोप छ।

राज्य पुनर्संरचना अघि नवलपरासी सभापति विष्णु लामिछाने थिए। राज्य पुनर्संरचनापछि जिल्ला विभाजित भएपछि उनी बर्दघाटपूर्वका सभापति बनेका थिए भने बर्दघाट सुस्तापश्चिमको जिम्मेवारी तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो।