राजधानीमा शिक्षित व्यक्तिबाटै जातीय विभेद, डेराबाट निकाल्न खोजियो

काठमाडौँ।  नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १३ वर्ष वितिसकेको छ। तर संघीय राजधानी काठमाडौँमै छुवाछुतबाट पिडित बन्नुपरेको उजुरी प्रहरीमा वारम्वार दोहरिन थालेका छन।

कैलाली घर भई नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थी दिपा नेपालीले आफुलाई विभेद गर्दै डेराबाट निकाल्न खोजिएको भन्दैं बालाजु प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो।

काठमाडौँ तारकेश्वर नगरपालिका १० नेपालटारका घरधनी श्रीकृष्ण विडारीले दलित भएको थाहा पाएपछि आफूलाई कोठा छाड्न दबाब दिएकाले हारगुहार गरेको उनले बताइन्। प्रहरीले सुनुवाई नगरेको भन्दै नेपालीले अधिकारकर्मीहरु गुहारेपछि यो प्रकरण संसदसम्म समेत पुगेको थियो। विभिन्न राजनीतिक दलका नेता तथा अधिकारकर्मीले गृहमन्त्रीलाई भेटी घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए।

अन्य सम्बन्धित समाचार:  रसुवामा पनि निषेधाज्ञा

कानूनले सबैलाई समान अधिकार र हैषियत दिएको अवस्थामा विभेदका घटना दोहोरीनु विडम्बना भएको कांग्रेसका सांसद मीन विश्वकर्मा बतायछन्। सरकारी कर्मचारी समेत रहेका घरधनी विडारीमाथि थप कारबाही हुनुपर्ने माग गर्दै दलित अधिकारकर्मीहरुले शिक्षित सरकारी कर्मचारीबाटै विभेद हुनु लज्जाजनक भएको बताएका छन्।

महानगरीय प्रहरी वृत्त बालाजुले अहिले आरोपी विडारी, राधिका विडारी, जनकराज ढुंगाना र सन्तोषी ढुंगाना चारै जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। उनीहरुलाई जातिय छुवाछूत तथा भेदभाव कसुर अन्र्तगत मुद्धा चलाउने तयारी भईरहेको बालाजु वृत्तका प्रमुख डिएसपी रजितसिंह राठौरले बताए।

जातीय विभेद र छुवाछुतलाई कानूनले दण्डनीय मानेको छ। मुलुकका दुरदराजमा जातीय विभेदका घटना हुनु नौलो होइन तर शिक्षित भनिएको राजधानी शहरमा पनि विभेदका घटना हुनु चाहीँ विडम्वनापूर्ण हो यसलाई सम्बन्धीत निकायले धेरै चासोपूर्ण डङ्गले नहेरेको भएर पनि चाँडै सेलाँउछन् र यस्ता घटनाहरु दिनानु बढ्दै गएको पाइएको छ।