नख्खु–बुङ्मती सडक निर्माण अघि बढ्यो

ललितपुर। विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ। भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ।  तीन वर्ष पहिले शुरु भएको सडक विस्तार विभिन्न अवरोधका कारण अहिलेसम्म आधा सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। सो सडक विस्तार दुई ठेक्कामार्फत निर्माण अघि बढाइएको हो।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्छ। निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुनै लामो समय लागेको थियो।  प्राधिकरणले चिह्न लगाएर सडक खाली गराएपछि आयोजनाले निर्माण व्यवसायीमार्फत विस्तारित सडकमा निर्माणको काम अघि बढाइरहेको छ।

अन्य सम्बन्धित समाचार:  कालीमाटी तरकारी बजार बन्द

यस सडकको केही स्थानमा विद्युत, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएको थियो। अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए। उनले भने, “ती स्थानमा खाली गराउन लागिएको छ, मापदण्डानुसार जग्गा भएका स्थानमा काम भइरहेको छ।”

यस सडकमा भैँसेपाटी क्षेत्रमा सडक निर्माण भइरहेको इञ्जिनीयर देवकोटाले बताए। साँघुरा बस्ती रहेका स्थानमा भने स्थानीय तहसँगको समन्वय छलफल भइरहेको छ। पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो।

सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो। आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो।