खरेलको भ्रष्टाचारविरोधी अभियान सुरु

काठमाडौँ।  पूर्वडीआईजी रमेश खरेलले राजनीतिक दल खोल्ने उद्देश्यका साथ भ्रष्टाचारविरुद्धको अभियान घोषणा गरेका छन्।

काठमाडौँमा आज सार्वजनिक कार्यक्रमार्फत् उनले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका हुन्।

“देशमा भएको कुशासनका लागि जनतालाई सचेत बनाउन अभियान थालिएको हो,” कार्यक्रमको औपचारिक शुरूआत हुनुअघि पत्रकारसँग कुरा गर्दै उनले भने, “यो अभियान देशैभर पुर्‍याउने लक्ष्य छ। देशको दुरावस्थाका कारण जनतामा चरम निराशा छाएको बताउँदै उनले आफूहरूजस्तो ‘जाने बुझेको’ व्यक्ति अहिले नबोले कहिले बोल्ने भन्ने सोचेर अभियान शुरू गर्न लागेको बताए।

भ्रष्टाचारविरोधी अभियानमा जोडिन चाहने सबै पक्षसँग मिलेर जाने उनले बताए। खरेलले ६ महीनापछि राजनीतिक दलको रूप दिने उद्देश्य राखेर आज अभियानको घोषणा गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा दाउरा कमी नहोस्ः वनमन्त्री आले

खरेलले दुई साताअधि हाम्रो नेपाल, हामी नेपालीु अभियानको नेतृत्व गर्न लागेका थिए। तर घोषणाको केही घण्टा अगाडि मात्र अभियानका अन्य सदस्यबीच कुरा नमिलेपछि खरेल पछि हटेका थिए।

२०७४ चैत २८ गते खरेलले सरकारले डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेपछि राजीनामा दिएका थिए। सर्वेन्द्र खनाल माघ २८ गते अवकाश भइसकेका छन्। अब खरेल भने राजनीतिक बाटो रोज्ने लयमा देखिएका छन्।