प्रेम दिलले गर्छ कि दिमागले?



काठमाडौँ। प्रेम दिलले गर्छ कि दिमागले? कसैले झ्वाट्ट सोध्यो भने हामी पक्कै भन्छौँ, दिलले। हामीले पढेर देखेका सबैजसो साहित्य, नाटक तथा सिनेमाका कथाले यही भन्छन्। माया मुटुमा हुन्छ। यो मनको अनुभूति हो। पहिलो नजरमा हुने प्रेमलाई त झन् पूरापूर मनकै करामत मान्छौँ हामी, जसमा दिमागको कुनै जोर चल्दैन।

तर, हालैको एक अनुसन्धानले हाम्रो बुझाइलाई गलत देखाइदिएको छ। अनुसन्धानका अनुसार, कसैलाई देख्नेबित्तिकै हाम्रो दिमागमा केही त्यस्ता केमिकल उत्पन्न हुन्छन्। जसले गर्दा हामी प्रेममा पर्छौ।

यसलाई यसरी पनि भन्न सकिन्छ। यदि कसैलाई भेटेको पहिलो हेराइमै हामीलाई त्यो मान्छे मन पर्छ भने उसलाई हाम्रो हृदयले होइन दिमागले मन पराएको हो। उसँग हाम्रो प्रेम दिमागले गरेको हो। हृदयले होइन। अझ भन्नुपर्दा, प्रेमको सुरुवात मनबाट होइन। दिमागबाट हुन्छ।

न्युयोर्कस्थित सिराक्युज विश्वविद्यालयको मनोविज्ञान विभागले गरेको अनुसन्धानमा पाइएको छ कि, कसैसँग प्रेम हुँदा हाम्रो भावना र मुड मात्रै परिवर्तन हुँदैन। हाम्रो दिमागका केही विशेष स्थानसमेत सक्रिय हुन्छन्।

मान्छे प्रेममा हुँदा उसको दिमागलाई उत्साहित बनाउन डोपामिन, एड्रिनलिन र भ्यासोप्रेसिनसहित १२ प्रकारका हर्मोन रिलिज हुन्छन्। र यी सामान्य अवस्थामा भन्दा निकै ज्यादा मात्रामा रिलिज हुन्छन्। यसैकारण प्रेममा हुने व्यक्तिलाई सबै कुरा राम्रो र नौलो लाग्छ। मान्छेले आफूलाई उर्जावान महसुस गर्छ र कसैका नराम्रा बानी छ भने तिनलाई सुधारेर उ राम्रो मान्छे बन्ने प्रयत्न गर्छ। त्यसैले त प्रेममा परेका मान्छे सबैसँग राम्रो व्यवहार गर्न थाल्छन्।

अनुसन्धानले प्रेम जसलाई, जहिले, जहाँ, जोसँग पनि हुन सक्ने देखाएको छ। मान्छेलाई कसैसँग ०.२ सेकेन्ड भित्रै प्रेम हुन सक्ने तथ्य अनुसन्धानले प्रस्तुत गरेको छ। प्रेम दिमागबाट हुने भए पनि यसमा हृदयको भूमिकालाई नकार्न भने सकिँदैन। सबै प्रक्रिया दिमागको नियन्त्रणमा हुन्छ। किनकि मान्छेलाई उत्साहित बनाउन सहयोग गर्ने हर्मोन उत्पन्न गराउन दिमाग नै जिम्मेवार रहन्छ।

मान्छेलाई प्रेम हुँदा उसको शरीरमा उत्पन्न हुने हर्मोनहरु नियमित व्यवहारमा भन्दा बेग्लै तरिकाले उत्पन्न हुन्छन्। र बेग्लै तरिकाले नै काम गर्छन्।

उदाहरणका लागि, एड्रिनलिन सामान्यतया कुनै समस्याका कारण उत्पन्न हुने तनावको प्रतिक्रियास्वरूप उत्पन्न हुने हर्मोन हो। तर, जब कसैलाई प्रेम हुन्छ। तब यो हर्मोन सक्रिय हुन्छ। यसैका कारण हो। कुनै प्रेमीमा आफ्नो प्रेमीको अगाडि पर्दा एकाएक परिवर्तन आउने, कहिले मुटुको धड्कन छिटोछिटो चल्ने, कहिले शरीरबाट पसिना आउने, कहिले ओठ सुक्न सुरु हुने। यस्तो अवस्थामा मानिस एड्रिनलिनका कारण अनियन्त्रित भएको ढुकढुकीको दोष हृदयलाई दिन्छन्।

प्रेमसँग जोडिएका हरेक इच्छा र आकांक्षामा कुनै न कुनै हर्मोन जिम्मेवार हुन्छ। जस्तै, आफूले माया गरेको मान्छको हेरचाह गर्ने इच्छा अक्सिटोसिनले र जीवनभर सँगै हुने इच्छा भ्यासोप्रेसिनले उत्पन्न गर्छ।

बायोकेमिस्ट्रीका अनुसार, प्रेममा परेपछि धेरै प्रकारका हर्मोन दिमागमा उत्पन्न हुन्छन्। जसले दिमागलाई धेरै सक्रिय बनाउँछ। यो पनि मानिन्छ कि दुवै कुरा एक–आपसमा निर्भर हुन्छन्। प्रेममा परेपछि नै यी तत्वहरु सक्रिया हुन्छन्। र यी तत्वहरु सक्रिय हुँदै जाँदा प्रेम बढिरहन्छ। त्यसकारण, कसैसँग सधैँ राम्रो प्रेम सम्बन्धमा हुनका लागि मान्छेको दिमाग स्थिर भइरहन अत्यावश्वक छ।