आजदेखि विदेशबाट आउने सबै क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौँ। नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागू भएको छ। अध्यागमन विभागले कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको हो।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य फारम भर्नुपर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाली नागरिकलाई घरमा नै क्वारेन्टाइनमा बस्न भनिएको छ। भने विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्यवस्था आफैं गर्नुपर्नेछ।

क्वारेन्टाइनमा बसे वा नबसेको अनुगमन सम्बन्धित स्थानीय तहहरूले गर्ने जनाइएको छ। यो नियम अप्रिल ३० सम्म लागू हुनेछ। तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

यस्तै, उनीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र नेपाल भित्रिने नाकाका रुपमा राखिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार अब विदेशबाट फर्किएका सबै नागरिकले १४ दिन सेल्फ क्वारेन्टाइन मा बस्नुपर्ने भएको हो।

क्वारेन्टाइनमा बस्दा परिवारका सदस्यसँग नजिक गएर कुरा गर्न नहुने, कम्तिमा ६ फिटको दूरी कायम गरेर बस्नुपर्ने, माक्स लगाउने, छुट्टै बाथरुम प्रयोग गर्ने, क्वारेन्टाइन बसेको व्यक्तिले प्रयोग गरेका सामग्री परिवारका अरु सदस्यले प्रयोग गर्न नहुने बताइएको छ।

क्वारेन्टाइनमा बस्दा बेलाबेला शरीरको तापक्रम लिन र सङ्क्रमणको लक्षण देखिएमा तोकिएको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न सरकारले अनुरोध गरेको छ।