उद्योग वाणिज्य महासङ्घको चुनाव नसर्ने

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औं वार्षिक साधारणसभा नसर्ने भएको छ। महासङ्घको चैत २८ र २९ गते नै काठमाडौंमा साधारणसभा हुने भएको हो।

कोरोना भाइरसका कारण सभा सम्मेलन नगर्न नगराउन सरकारले आह्वान गरेपछि महासङ्घको चुनावी साधारणसभासमेत प्रभावित हुने आंशका व्यक्त गरिएको थियो ।

महासङ्घ भित्रै पनि साधारणसभा सार्नुपर्ने र सार्न नहुने विषयमा मतभेद भने देखिएको छ। तर, कोरोनाको सङ्क्रमण देशमा नफैलिएको र आत्तिनुपर्ने अवस्था नभएको सरकारकै भनाई रहँदै आएका बेला साधारणसभा सार्न नहुने पक्षमा महासङ्घ देखिएको हो।

महासङ्घको शुक्रबार बसेको स्थायी समिति बैठकले प्रदेशको साधारणसभा सार्ने निर्णय गरे पनि केन्द्रीय साधारणसभा सार्ने विषयमा कुनै निर्णय गरेको छैन। एक स्थायी समिति सदस्यका अनुसार केन्द्रीय साधारणसभा सार्ने विषयमा कुनै निर्णय नभएको भन्दै साधारणसभा नसर्ने बताए। कोरोनाको सङ्क्रमण फैलिएर असहज परिस्थिति बनेको अवस्थामा महासङ्घले पनि सोच्न सक्छ, तर अहिले नै साधारणसभा रोक्ने पक्षमा महासङ्घ नरहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

यता, साधारणसभा सार्न गृह मन्त्रालयले पनि महासङ्घलाई केही भनेको छैन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कुनै पनि निश्चित कार्यक्रमलाई तोकेर रोक्न नभनेको बताए। उनले सरकारले सङ्क्रमण हुन सक्ने तर्फ सचेत बन्न सबैलाई आग्रह गरेपनि महासङ्घलाई साधारणसभा नगर्न नभनेको जानकारी दिए।

महासङ्घले प्रदेशको साधारणसभा सार्ने निर्णय गर्दै केन्द्रिय साधारणसभा भएको एक महिनाभित्र प्रदेशको साधारणसभा गर्ने निर्णय भने गरिसकेको छ।