राष्ट्रियसभा बैठकमा आधादर्जन विधेयक पेश गरिँदै

काठमाडौँ। राष्ट्रियसभाको बैठकमा आज आधादर्जन विधेयकहरू पेश हुने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पेश गर्नेछन्।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको पारमाणविक विधेयकमाथि सदनमा छलफलको प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

अन्य सम्बन्धित समाचार:  एमाले प्रवेश गरेका बादलको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाहाङफेले प्रमाण दोश्रो संसोधन विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।