हल बन्द नगर्ने चलचित्र सङ्घको निर्णय

काठमाडौँ। संसारभर फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेको छ। तर सरकारले यस्तो अपिल गरेता पनि फिल्म हलहरू बन्द नहुने भएको छ। आइतबार बसेको नेपाल चलचित्र सङ्घको बैठकले फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेको हो।

पछिल्लो समय सरकारले गरेको आह्वानसँगै देशभर सञ्चालन भइरहेका सयभन्दा बढी हलहरू प्रभावित हुने सम्भावना बढेकाले फिल्म हलहरू बन्द नगर्ने निर्णय गरेको बताइएको छ। आइतबार बसेको सङ्घको बैठकले तत्कालको अवस्थामा फिल्म हलहरू बन्द नगर्ने निर्णयमा पुगेको जनाइएको छ।

बिहीबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले १९ निर्णय गर्दै सतर्कता अपनाउन आह्वान गर्ने घोषणा गरेको थियो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

अधिकांश नेपाली फिल्मका निर्माताहरू दशैं र तिहारलगायत ठूला पर्वमा फिल्म रिलिज गर्न रुचाउने भएकाले कोरोनाका कारण पछाडि सरेका फिल्महरूको रिलिज मिति मिलाउन अप्ठ्यारो हुने तर्क नेपाल चलचित्र निर्माता सङ्घले गरेको छ।

कोरोना भाइरसका कारण फिल्म हलहरूको व्यापारमा असर पुगेको हुँदा सरकारलाई कर मिनाहा सहित राहत दिन आग्रह गरिएको पनि बताइएको छ।

यसअघि नेपाल चलचित्र निर्माता सङ्घले प्रेस विज्ञप्तिमार्फत कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सतर्कता अपनाउन सम्पूर्ण फिल्महरूको सुटिङ तत्काल स्थगित गर्न आह्वान गरेको थियो।