आठ लाख थान मास्कसहित दुई जना पक्राउ

काठमाडौँ। विश्वव्यापी  माहामारीका रुपमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिइरहेका बेला बजारमा कालोबजारी फैलाउनेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन थालेको छ।

कोरोना भाइरसको त्रासका बेला मौका छोपेर व्यवसायमा कालोबजारी नगर्न गरिएको पटक–पटकको आग्रहलाई व्यापारीहरुले बेवास्ता गर्दै कालोबजारीलाई निरन्तरता दिइरहेको पाइएपछि सरकार कडा रुपमा प्रस्तुत भएको हो।

प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ। सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो।

गोयलले आफ्नो गोदाममा लुकाएर राखेको ठूलो परिमाणको मास्क बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

गोयल र महेश्वरीविरुद्ध कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको बताइएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी धमाधम पक्राउ परेका छन्।