महेन्द्रनगरदेखि भारतसम्मको बस सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौँ।  कोरोनाभाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको नयाँदिल्ली र देहरादुन बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

महेन्द्रनगर बसपार्कबाट दैनिक भारतको राजधानी नयाँदिल्ली र देहरादुनमा गड्डाचौकी–बनबासा नाका हुँदै नेपाल तथा भारतको बससेवा सञ्चालन हुँदै आएको थियो। दुई देशका अधिकारीको सहमतिमा भारतबाट नेपाल र नेपालबाट भारततर्फ चल्दै आएको मैत्री बस सेवा(आज)सोमबारबाट अनिश्चितकालका लागि बन्द गरिएको हो।

दैनिक रुपमा नेपाल र भारततर्फका गरि १३ वटा बस सञ्चालन हुँदै आएका थिए।जसमा भारतको उत्तर प्रदेश र उत्तराखण्ड परिवहन र नेपालको महाकाली यातायात तथा पवनदूत यातायातका बस सञ्चालन हुँदै आएका थिए।

अन्य छोटो दुरीका सवारीसाधन भने सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए।भारतमा कोरोना भाइरस देखिएपछि सीमामा समेत सतर्कता अपनाइएको छ।नेपाल र भारत दुवै देश प्रवेश गर्ने नाकामा हेल्थ डेस्क राखिएको छ।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक सयौं नेपाली र तिर्थयात्री भारत जाने गरेका छन्। महेन्द्रनगर बसपार्कबाट छुट्ने बससेवा बन्द भएपछि भारतको बनबासाबाट नेपालीले बस चढ्नुपर्नेछ।

यातायात व्यवस्था विभागका अनुसार भारतसँग जोडिएका अन्य रुटको बससेवा भने बन्द भएको छैन।