हात नमिलाउ अङ्कमाल नगरौं

बनेपा। वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमित्त प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले कोरोना भाइरसबाट बच्न कोहीसँंग पनि अङ्कमाल तथा हात नमिलाउन र नमस्कार मात्रै गरेर शिष्टाचार अभिवादन गर्न आग्रह गरेका छन्।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा बनेपाको चारदोबाटोमा सञ्चालन गरेको कोभिड–१९ बारे जनचेतनामूलक सन्देश कार्यक्रममा उनले कोरोनाका भाइरस मान्छेको हातबाट सर्ने धेरै सम्भावना भएकाले समूहमा नबस्न तथा कुनै पनि बस्नु छोइसकेपछि हात धोएर सफा राख्न आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाले आइतबारबाट कोरोना भाइरसबाट कसरी सावधानी अपनाउने र कसरी रोगबाट बच्ने भन्ने विषयमा सचेत रहन अभियानमूलक नागरिक सहायता कक्ष सञ्चालन गरी निःशुल्क सर्जिल मास्क वितरण गर्नुका साथै बनेपा हेल्थ केयर सेन्टरको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

स्वास्थ्य परीक्षणका क्रममा ५०० वटा सर्जिकल मास्क वितरण गर्नुका साथै बनेपा हेल्थ केयरले गरेको स्वास्थ्य शिविरमा २४० जनाले मधुमेह र २५० जनाले रक्तचाप परीक्षण गरे।