काठमाडौँ। कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ।
कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढ्दो छ। तर चीनबाट आपूर्ति रोकिएको छ भने भएका मास्कमा कालोबजारी भइरहेको छ। ५/१० रुपैयाँमा पाइने मास्कलाई ५० रुपैयाँसम्म लिन थालेपछि प्रहरीले सर्च अपरेसन चलाएर बरामद गर्न थालेको छ।
हालसम्म बरामद भएका मास्क गोदाममा राखिएका छन्। यसमा पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइनछ र मुद्दाको टुंगो लागिसकेपछि मा जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ।
स्रोतकाअनुसार उनले कालोबजारी गरेको अभियोगमा अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी गरेका छन्। बरामद भएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने तयारी थालेको छ।
प्रहरीले चैत २ गते कपनको मिलन चोकबाट १ लाख ६८ हजार थान मास्कसहित ५ जनालाई पक्राउ गरेको थियो। उनीहरुसँग सोधपुछको क्रममा काठमाडौं महानगरपालिका १० विष्णुमति पुलस्थित रोहित श्रेष्ठको घर भाडामा लिई राखेको आरडीजी सप्लायर्स कम्पनीको गौदामबाट ८ लाख ४० हजार थान मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।
यो समूहबाट अहिलेसम्म १० लाख ८ हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ।