कोभिड–१९ को सङ्क्रमण फैलन नदिन पूर्वीनाकामा ४० स्वयंसेवक

झापा। पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ को सङ्क्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयम्सेवक परिचालन गरेको छ। नगरभित्रका विभिन्न सङ्घसंस्थाका ४० प्रतिनिधिको टोलीले आजदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरुपमा भारततिर नजान अनुरोध गरेको छ।

मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षतामा आइतबार नगरपालिकाले विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसहितको स्वयम्सेवक परिचालन समिति गठन गरेपछि उनीहरु आजदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन्। स्वयंसेवकका रुपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य सङ्घले पाँच इन्फोरेट थर्ममिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले बताए। उनका अनुसार दैनिक ४० जनाले चार टोली बनाएर दिनको चारचार घण्टा नाकामा बसेर स्वयंसेवकले काम गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

टोलीमा उद्योग वाणिज्य सङ्घ, माइती नेपाल, रोटरी क्लब, ट्राभल्स सङ्घ, जेसिज, होटल व्यवसायी सङ्घ, नेपाल रेडक्रस सोसाइटी, नाइटचेस क्लब, मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थालगायत १६ रहेको उनले बताए।
यसैगरि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश नं १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरिएको बताए।