कोरोना भाइरस: साझा यातायातले अपनायो सावधानी स्यानिटाइजर छर्केर मात्र सेवा

काठमाडौँ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन नदिनका लागि विभिन्न स्तरमा प्रयासहरु भइरहेको सरकारले जनाएको छ। सरकारी निकायले बारम्बार सामाजिक दूरी कायम गर्न आग्रह गरिरहेका छन्।

तर पनि काम विशेषले यात्रा गर्नु पर्नेहरुलाई भने कतै संक्रमण भइहाल्ने हो कि भन्ने चिन्ता रहन्छ। अझ काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातको यात्रा जोखिम पूर्ण नै हुन्छ।

साझा यातायातले भने कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाइएको जनाएको छ। साझा यातायातले दैनिक रुपमा आफ्ना गाडीहरु सफा गर्ने गरेको छ। गाडी सफा गरेपछि किटाणु नाशक स्प्रे गरेर मात्रै यात्रा सुरु गर्ने गरेकाले साझा यातायातको यात्रा सुरक्षित रहेको दाबी सञ्चालकले गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री

यस्तै गाडी चालक तथा सहचालकहरु स्वास्थ्य परीक्षणपछि मात्रै काममा खटिने गरेको पनि साझा यातायातले जनाएको छ।बसका सिट, ह्याण्डलसहितका बढी छोइने मागमा दिनमा पटक पटक सेनिटाइजरले सफा गर्ने गरिएको पनि साझा यातायातले जनाएको छ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन। तर विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको क्षेत्रमा राखेको छ।