जनकपुर पठाइएका ९ जनामा कोरोना भाइरस संक्रमण भेटिएन

जनकपुर। कोरोनाभाइरस संक्रमणको आशंकामा सिरहाबाट जनकपुर स्थित प्रादेशिक अस्पताल पठाइएका ९ जनालाई सामान्य उपचारपछि घर फर्काइएको छ।

सोमबार बेलुका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमणको भएको आशंकामा थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।

केही दिनअघि रोजगारीको शिलशिलामा भारतको पंजाबबाट फर्केका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो। उनीहरु सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको जानकी मेडिकल कलेजले जानकारी दिएको छ।

बिरामी भएका ९ जनामा देखिएको ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि थप उपचारका लागि जनकपुर पठाएको जानकी मेडिकल कलेजका डा।रामउदगार यादवले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि

यता प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारसहित परिक्षण गर्दा सामान्य रुघा खोकी र ज्वरो लागेको हुनाले सामान्य उपचार गरी औषधीहरु नियमतरुपमा सेवन गर्नका लागि भनेर घर फर्काइएको प्रादेशिक स्वास्थ्य विभागका निर्देशक डा।विजयकुमार झाले जानकारी दिए।

उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो। केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको थियो।