कोरोना भाइरस : फिलिपिन्समा सेयर बजार बन्द

काठमाडौँ। फिलिपिन्समा मङ्गलबारदेखि सेयर कारोबार बन्द भएको छ। अर्को सूचना जारी नभएसम्मका लागि मङ्गलबार (मार्च-१७) बाट अनिश्चितकालीन सेयर बजार बन्द गरिएको फिलिपिन्स स्टक एक्सचेन्जले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट सर्वसाधारण लगानीकर्ता र कर्मचारीहरूलाई सुरक्षा दिन अनिश्चितकालीन सेयर बजार बन्दको घोषणा गरिएको हो।

फिलिपिन्सको सरकारले पनि सेयर कारोबार लगायत अन्य महत्वपूर्ण सार्वजनिक स्थल तथा सामूहिक जमघटका कार्यक्रम नगर्न निर्देशन दिएको छ। सोही अनुसार सुरक्षाको उच्च सतर्कता अपनाउँदै सेयर बजार बन्दको घोषणा गरिएको फिलिपिन्स स्टक एक्सचेन्जले जनाएको छ। अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ।

विश्वका अन्य मुलुकहरूका सेयर बजार पनि बन्द गर्ने वा कारोबार अवधि घटाउने सम्बन्धमा छलफल चलिरहेको छ। तर नेपालमा भने कोरोना भाइरसको त्रास बढेका बेला उल्टै सेयर कारोबार समय १ घन्टा थपेर दैनिक ५ घन्टा पुर्‍याइएको छ। कोरोना त्रास बढेका बेला यसरी समय थपिएकामा सर्वसाधारण लगानीकर्ता भने आश्चर्यमा परेका छन्।

अन्य सम्बन्धित समाचार:  बुटवलमा कोरोना संक्रमणबाट महिलाको मृत्यु