कोरोना विश्वव्यापी महामारीको असर : चीनमा डिभोर्स बढ्न थाल्यो

बेइजिङ। कोरोना भाइरस महामारीले संसारभर अनेक समस्या निम्त्याएको छ। खासगरी विश्व अर्थतन्त्रमा यसले गम्भीर असर निम्त्याउने धेरैको अनुमान छ। तर अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।

चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो। चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट तयार पारेको छ। छिआनका विवाह दर्ता गराउने कार्यालयहरुमा केही हप्तादेखि नै डिभोर्स गराउन निवेदन हिनेहरुको संख्या बढेको हो।

उत्तरपश्चिम सान्छी प्रान्तको राजधानी समेत रहेको छिआन सहरमा फेब्रुअरी २४ यता मात्रै ३ सय जोडीले डिभोर्सका लागि आवेदन दिएका हुन्। कोरोनाकै कारण यस्तो सामाजिक असर देखिएको बताइएको हो। सिचुआन प्रान्तको डाझउस्थित विवाह केन्द्रका व्यवस्थापक लु सिजुआनका अनुसार पहिले भन्दा डिभोर्स दर बढेको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

रिपोर्ट अनुसार कोरोना महामारी फैलिन थालेपछि जोडीहरुले अधिकांश समय घरभित्र ‘क्वारेन्टाइन’मै बिताउनु परेको छ। जसले गर्दा आपसी बेमेल उत्पन्न हुन थालेको हो।