कोरोना भाइरस : इटालीमा २४ घण्टामा ३ सय ४६ जनाको मृत्यु

काठमाडौँ। चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या २ हजार ५ सय नाघेको छ।

इटालीमा बितेको २४ घण्टामा थप ३ सय ४६ कोरोना सङ्क्रमितको ज्यान गएको छ।  यो एकै दिन भएको अहिलेसम्मकै उच्च मृत्यु हो। योसँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार ५ सय ३ पुगेको छ।

वर्ल्ड ओमिटर्सका अनुसार, ३१ हजार ५ सय ६ जना सङ्क्रमित छन्। बितेको २४ घण्टामा मात्रै २ हजार ५ सय ३ मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  सङ्क्रमित २ हजार ९ सय ४१ स्वास्थ्यलाभ गरेर घर फर्केका छन्।

उता, अर्को युरोपियन देश स्पेनलाई पनि कोरोनाले सताएको छ। यहाँ पछिल्लो २४ घण्टामा १९१ मानिसको ज्यान गएको छ। योसँगै कोरोनाबाट स्पेनमा ज्यान गुमाउनेको सङ्ख्या ५ सय ३३ पुगेको छ। फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु

कोरोनाविरुद्ध लड्न विभिन्न उपाय अवलम्बन गरेका युरोपेली युनियन ईयु सम्बद्ध राष्ट्रहरूले मृत्यु र सङ्क्रमणदर ह्वात्तै बढेपछि सतर्कता अपनाइरहेका छन्। यही क्रममा ईयुले २६ देशका सीमा नाका ३० दिनका लागि बन्द गर्ने निर्णय लिएका छन्।

कोरोना भाइरसबाट बितेको २४ घण्टामा विश्वभर ८२६ जनाको मृत्यु भएको छ।

संक्रमण दर घट्दो क्रममा रहेको चीनमा भने पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। सङ्क्रमणदर पनि चीनले ह्वात्तै घटाएर दुई अङ्कमा झारेको छ। हाल चीनमा कोरोनाको सङ्क्रमणदर १३ देखिन्छ।