कोरोना भाइरस : नेपालगञ्ज नाकामा सवारी साधन निषेध

काठमाडौँ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपालगञ्ज नाकामा सवारी साधन निषेध गरेको छ। नाकाको भीडलाई कम गर्न जमुनाहा नाकादेखि तीन किलोमिटर यतै सवारी साधन रोकिएको छ।

भारत जानै पर्नेहरूलाई पैदल जान दिइएको छ। भारतको उत्तरप्रदेशमा समेत कोरोना सङ्क्रमित देखिसकेकाले त्यससँग जोडिएका बाँकेलगायतका जिल्लालाई जोखिम मान्दै नाकामा भीड कम गर्न यस्तो नीति अपनाइएको हो।

नेपालबाट रुपैडिहामा सामान किन्न जानेहरूले गर्दा धेरै भीड हुन्थ्यो। सामान किन्न जानेहरू प्रायः यात्रुवाहक गाडी, टाँगा, अटोरिक्सा, मोटरसाइकल, साइकलमा जाने गर्दछन्।

यी सबै साधनलाई तीन किलोमिटर यता नै रोकिएपछि तीन किलोमिटर हिँडेर सामान किन्न जानेहरू पातलिने आकलन गरिएको छ। बुधबार बिहानदेखि यस्तो व्यवस्था गरिएको छ।

अन्य सम्बन्धित समाचार:  आनी छोइङ डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

बुधबारदेखि जमुनाहा नाकामा सडकमै पाल टाँगेर कोरोनाको जाँच गरिएको छ। भारतबाट आउने सबैलाई अनिवार्य स्वास्थ्य जाँच गर्ने र आशङ्कित भेटिएमा अस्पतालमा पठाउने नीति लिइएको छ। त्यसका लागि नाकामा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।