कोरोना भाइरस : नेपाली चलचित्र बजार सङ्कटमा

काठमाडौँ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वको सिने क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्नुका साथै चलचित्र जगत नै सङ्कटमा पारेको छ। नेपाली चलचित्रको बजार पनि अहिले यसको त्रासका कारण चरम सङ्कटमा पुगेको छ।

चलचित्र प्रदर्शनका लागि तय गरिएको मिति धमाधम निर्माता पछि सार्नमा लागेका छन्। चलचित्रको प्रदर्शन मिति पछि सरे सँगै यो महिना चलचित्र प्रदर्शन हुने सम्भावना कम देखिएको छ।

फागुन र चैत्र महिना चलचित्र प्रदर्शनको लागि राम्रो महिनाको रुपमा मानिन्छ। फागुन ३० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कोरोना त्रासका कारण प्रदर्शन स्थगित भयो। त्यस्तै चैत्र ७ गते रिलिज हुने भनिएको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति यस अघि कोरोनाको त्रासका कारण नै स्थगित भएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

यस्तै, चैत्रको २१ गते रिलिज हुने भनिएको चलचित्र ‘लक्का जवान’ पनि अब रिलिज नहुने भएको छ। शिवहरि पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रमा दीलिप रायमाझी, किरण केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

यस्तै, नयाँ वर्षको छेकोमा रिलिज हुने भनिएका चलचित्र ‘प्रेमगीत ३’ र ‘माइकल अधिकारी’को प्रदर्शन पनि पछि सरेको छ। वैशाखमा प्रदर्शन मिति तोकिएका चलचित्र पनि अब के हुन्छ भन्ने टुङ्गो लागेको छैन।