कोरोना भाईरस त्रास :संघीय संसदका बैठक स्थगित गर्ने तयारी

काठमाडौँ। कोरोना भाईरसको त्रासका कारण संघीय संसदका बैठक स्थगित गर्ने तयारी भएको छ।

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन र निस्कन परे २५ जना भन्दा बढी भेला हुने गरी कुनै पनि कार्यक्रम, सभा सम्मेलन नगर्न आग्रह गरेपछि संसदको बैठक स्थगित गर्ने तयारी भएको हो।

संसद अधिवेशन स्थगित गर्ने कि अधिवेशन नै अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न भोलि बिहिबार सबै राजनीतिक दलका सचेतक, प्रमुख सचेतकसहितको बैठक बोलाउने तयारी भएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ। समय भने तय हुन बाँकी रहेको बताईएको छ।

यसअघि राष्ट्रिय सभा र प्रतिनिधिसभामा सांसदहरुले संसदको बैठक स्थगित गर्न माग गर्दै आएका थिए। कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रतिनिधि सभामा बोल्दै पटक–पटक संसद स्थगित गर्न माग राख्दै आएकी छिन्।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेकपाका प्रमुख सचेतक देव गुरुङले छलफल गरेर मात्रै संसद बैठक स्थगित गर्ने विषय सरकारसँग पनि जोडिएको बताएका छन्।