कोभिड १९: सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता

काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदले जोड दिए।
राष्ट्रियसभाको बिहीवारको बैठकको विशेष समयमा विपद्का घडीमा सरकार र कुनै पार्टी्विशेषका नभनी भाइरसको सम्भावित खतराबाट बच्नका लागि विशेष सतर्कता अपनाउन सरकारलाई आग्रह गर्दै सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले आफूहरुको भूमिकालाई पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गोपीबहादुर अछामीले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न सरकारको पूर्वतयारी स्वागतयोग्य रहे पनि यतिले मात्रै चुनौतीको सामना गर्न नसकिने भएकाले सरकार, राजनीतिक दल र जनता सबैले एकताबद्ध भएर पहलकदमी लिन जरुरी भएको बताए।

सांसद अछामीले सरकार, सदनलगायत सबैले जिम्मेवारीका साथ आआफ्नो स्थानबाट भूमिका बहन गर्नुपर्नेमा पनि जोड दिए। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रकाश पन्थले सरकारले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि अपनाएको पूर्वतयारी र स्वास्थ्य सतर्कता सकारात्मक छ भन्दै यसलाई थप प्रभावकारी बनाउन सरकार तथा सबै राजनीतिक दल एकताबद्ध भएर लाग्नुपर्ने बताए।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नेकपाकै नैनकला ओझाले भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले विशेष सावधानी अपनाउँदै खुला सिमानालाई समेत निश्चित अवधिका लागि बन्द गर्नुपर्ने बताए।सोही पार्टीका जगप्रसाद शर्माले कोरोनाविरुद्धको साझा अभियानमा सबै राजनीतिक दल र जनताको साथ र सहयोग लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिए।

नेकपाकी कोमल वलीले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कडा कारवाहीको माग गरे। सोही दलका भैरवसुन्दर श्रेष्ठले विदेशबाट फर्काइएका नेपालीलाई स्वदेश प्रवेश गर्दा स्वास्थ्य सुरक्षालगायत विषयमा ध्यान दिन जरुरी रहेको बताए।

नेकपाकै तुलसाकुमारी दाहालले स्थानीय तहमा ४१ प्रतिशत महिलाको सहभागिता भए पनि दक्षता, क्षमता र योग्यतामाथि प्रश्न उठाइएको भन्दै गुनासो गरे।

सोही दलकी डा विमला पौडेलले विदेशबाट फर्किएका नेपालीको स्वास्थ्य परीक्षणको अवस्था तथा कतारले हालै फर्काएका नेपालीको अवस्था के छ भन्ने जानकारी दिन सभाध्यक्षमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे

नेकपाकी उदया शर्मा पौडेले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि हालको असमान वितरण प्रणालीलाई सुधार गरिनुपर्छ भन्दै मेलम्ची खानेपानी आयोजनालाई छिटो सम्पन्न गराउनेतर्फ सरकारको ध्यान जान जरुरी भएको बताए।

नेपाली काँग्रेसका तारादेवी भट्टले भारतले नेपाली भूमि लिपुलेक र कालापानीलाई आफ्नो भूभागमा देखाउँदै आफ्नो राजनीतिक नक्शा सार्वजनिक गरेको र हालै कञ्चनपुरको बेलौरीलगायत स्थानमा समेत भूमि अतिक्रमण गरेकाले तत्काल कूटनीतिक माध्यममार्फत समस्या समाधान गर्न सदन तथा सरकारको ध्यानाकर्षण गराए।