आकृतिको हत्यारा पक्राउ

इलाम। इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ। आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो।

गत मङ्गलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जङ्गलमा लगी हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिए।

आकृतिको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो। सूर्योदय नगरपालिका–१३ स्थित पोखरी (किराँत टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अध्यनरत थिइन्।