होटल हयात एक महीनाका लागि बन्द

काठमाडौँ। अन्तर्राष्ट्रिय चेन होटल तारागाउँ रिजेन्सी (हयात) एक महीनालाई बन्द हुने भएको छ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न र पाहुना नभएकाले ८ चैत २०७६ देखि ९ वैशाख २०७७ सम्म होटल बन्द गर्ने निर्णय भएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले बताए।

सरकारले यूरोप, पश्चिम एसिया अन्तर्गत खाडी मुलुकहरू, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान लगायत कोभिड–१९ प्रभावित मुलुकबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाउने सबै यात्रुलाई ७ चैत २०७६ देखि ३० चैत २०७६ सम्म आगमन र ती मुलुकका एअरलाइन्सको उडानमाथि प्रतिबन्ध लगाएको छ।

बन्द अवस्थामा होटलका २६५ जना कर्मचारीलाई बिदा दिइने होटलको भनाइ छ। बिदा अवधिमा मजदुरले पाउने न्यूनतम पारिश्रमिक भने दिने गरी बिदामा राखिने छ। अवस्था अनुकूल भए कर्मचारीलाई कुनै पनि बेला बोलाउने शर्तमा बिदा दिइने पनि बताईएको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने

कोरोनाको जोखिम न्यूनीकरण गर्न सरकारले सभासम्मेलन नगर्न र २५ जनाभन्दा बढीको जमघट गर्न निषेध गरेकाले यसको असर होटल क्षेत्रमा पनि पर्ने भएकाले बन्द गर्ने निर्णय भएको उल्लेख छ।

होटल व्यवसायमा पाहुना नआउने र सञ्चालन गर्न पनि नसकिने भएकाले बन्द गर्ने निर्णय भएको होटलले जानकारी दिएको छ।