कोरोेना भाइरस :चीनमा भन्दा इटालीमा धेरै मृत्यु

काठमाडौँ। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हालको इपिसेन्टर इटालीमा ज्यान गुमाउनेका संख्या विश्वमै सबैभन्दा धेरै भएको छ। इटालीमा कोरोना भाइरसका कारण अहिलेसम्म ३४ सय पाँचजनाको ज्यान गएको छ।

बिहीबार एकै दिन थप ४२७ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी भएको हो। गएको डिसेम्बरमा चीनको हुबेई प्रान्तको हुवानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण चीनमा ३२ सय ४५ जनाको मृत्यु भएको छ।

तर यो तथ्यांकमा सबैले विश्वास भने गरेका छैनन्, धेरैले चीनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सार्वजनिक गरिए भन्दा अधिक हुन सक्ने आशंका गरेका छन्। आधिकारिक तथ्यांक अनुसार अब इटाली चीन भन्दा अघि लागेको छ।

अन्य सम्बन्धित समाचार:  नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

इटालीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि धेरै प्रयास गरिएका छन्। मार्च १२ देखि इटालीका सबै क्षेत्र लकडाउन छन्।लकडाउनको अवधि मार्च २५ बाट बढाएर मार्चको अन्तिमसम्म पुर्‍याइएको छ। यस्तै सबै इटालियनलाई घरमै बस्न भनिएको छ। तर पनि नयाँ संक्रमण तथा मृत्युको दर भने लगातार बढी रहेको छ।

विश्वभर अहिले दुई लाख २० हजार मानिसमा कोरोनाको संक्रमण भएको छ। यस्तै झण्डै ९ हजार मानिसको ज्यान गएको छ।