२४ घण्टामा एक लाख बढी मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौँ।  शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाडौँ छाड्नेको ह्वात्तै बढेको छ। गएको २४ घण्टामा काठमाडौँका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यो सङ्ख्या गएको बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो। यस्तै काठमाडौँ भित्रनेको सङ्ख्या भने घटेको छ। गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना आएका छन्। यो बुधबारको भन्दा १५ हजार सात सय ९५ जना कम रहेको ट्राफिक प्रहरीले जनाएको छ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण उपत्यका छाड्नेको संख्या बढेको हो। दशै, तिहार र २०७२ सालको भूकम्पपछि पनि काठमाडौँ छाड्नेको सङ्ख्या यसैगरी बढेको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री

सरकारले पनि अबको एक महिना रुट इजाजत बिना पनि गाडी चलाउन पाइने व्यवस्था गरेको छ। आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

यस्तै आउँदो बिहिबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिएको छ। विभागले सूचना निकालेर कोरोना भाइरसको जोखिमका कारण लाइसेन्सको नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिए पनि नविकरण तथा प्रतिलिपि दिने काम भने नियमित हुने जनाएको हो।

उपत्यकाबाहिर जाने यात्रुलाई बसपार्क र नाकामा रहेका हेल्थ डेक्समा आफ्नो शरीरको तापक्रम नापेर गाडी चड्न पनि अनुरोध गरेको छ। विभागले गाडी दैनिक रुपमा सफा गरेर जीवाणु रहित बनाउन, त्यो नसके स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको छ।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो

लामो तथा छोटो दुरीका गाडीमा सिट क्षमताभन्दा एक जना पनि बढी यात्रु नराख्न र सिट खाली नभए गाडीमा नचढ्न र यात्रा गर्दा अनिवार्य मास्क लगाउन यात्रुलाई अनुरोध गरेको छ।