पानीजहाजमा सवार सयौं यात्रुमा कोरोना भाइरस

काठमाडौँ। अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोना भाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी जारी गरिएको छ।

न्यु साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेका छन्।

उक्त जहाज बिहीवार सिड्नीमा रोकिएको थियो। जहाजमा चालकदलका १,००० भन्दा धेरै मानिस सहित कूल ३,८०० जना चढेको बताइएको छ। जहाज सिड्नी फर्कनु अगाडि न्युजिल्यान्ड पुगेको जनाइएको छ।

अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर किमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्। पानीजहाज आउनु अगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम भने लागू भइसकेको थियो।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका कोरोना संक्रमित युवकको भेरी अस्पतालमा मृत्यु

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घरभित्र पनि सबैजनाले प्रतिव्यक्ति चार वर्गमिटरको स्थान राख्नुपर्ने बताएका छन्।अस्ट्रेलियामा १०० जनाभन्दा बढी जम्मा हुने अत्यावश्यकका बाहेक सबै भेलामा प्रतिबन्ध लगाएको छ। अस्ट्रेलियामा ७०० सयभन्दा बढी कोरोना भाइरस सङ्क्रमितहरू छन्।