ओलम्पिक अन्योलमा

काठमाडौँ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभाव अहिले विश्वभरि छाएको छ। लगभग सबै खेल गतिविधि नै अहिले कोभिड १९ का कारण स्थगित भएको छ।

यसै वर्ष जापानमा ‘टोकियो ओलम्पिक २०२०’ हुँदैछ। तर कोरोनाले गर्दा ओलम्पिक हुन्छ कि हुँदैन वा सर्छ भन्ने कौतुहलता धेरैमा छ। यसै अन्योलका बीच पनि ओलम्पिक टर्च भने जापान पुगेको छ। युरोपियन राष्ट्र ग्रिसबाट उक्त टर्च शुक्रबार जापान पुर्‍याइएको छ।

जापान ओलम्पिक कमिटीले शुक्रबार ओलम्पिक टर्चलाई तोहोकु प्रदेशमा प्रदर्शनीमा राखेको छ। उक्त स्थान सन् २०११ को भूकम्पले बढी प्रभावित क्षेत्र मानिन्छ। यसअघि ग्रिसमा एक कार्यक्रमबीच ओलम्पिक टर्च लाइटनिङ गरिएको थियो। तर कोरोनाकै कारण ग्रिसमा टर्च अन्य स्थानमा भने लगिएन।

अन्य सम्बन्धित समाचार:  मलेसियालाई नेदरल्याण्ड्सले दियो १ सय ९२ रनको विशाल लक्ष्य

‘टोकियो ओलम्पिक २०२०’ आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय छ।  कोरोनाको कारण ओलम्पिक हुने नहुने अन्योल रहे पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीदेखि जापान सरकार सम्मले निर्धारित समयमै टोकियो ओलम्पिक गर्ने योजना रहेको जनाउँदै आएको छ।

कोरोनाकै कारण २०२० मा हुने भनिएको युरोकप र दक्षिण अमेरिकामा हुने कोपा अमेरिका फुटबल २०२१ मा सरेको छ।