घरबाटै काम गर्ने वातावरण मिलाउन पत्रकार महासङ्घको आग्रह

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले सञ्चारगृहहरूलाई सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ।

पत्रकार र सञ्चारमाध्यमका लागि आज जरुरी सूचना जारी गर्दै महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन आफू सुरक्षित रही समाचार सम्प्रेषण गर्न आग्रह गरेको हो।

पत्रकार महासङ्घले पत्रकारहरूलाई रिपोर्टहरू इमेलमार्फत फाइल गर्ने, स्रोतहरूसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गर्ने, भीडभाड हुने स्थानमा नजाने, कार्यस्थलमा जाँदा आधारभूत उपाय अपनाउन आग्रह गरेको छ।

साथै महासङ्घले पत्रकारहरूलाई गलत सूचना प्रवाह नगर्न आग्रह पनि गरेको छ। गलत प्रचारले त्रासलाई झन् बढी फैलाउने हुनाले आक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गर्ने र अरुलाई पनि गराउन अनुरोध गरेको छ।

अन्य सम्बन्धित समाचार:  ट्याक्टरको ठक्करबाट बालकको मृत्यु