आन्तरिक उडानको भाडा बढ्यो

काठमाडौँ। आन्तरिक उडानको भाडा एक्कासि बढेको छ। चार दिन अगाडिसम्म साविकको तुलनामा ६० प्रतिशतसम्म सस्तो भाडामा टिकट काटेका यात्रु एक्कासि भाडा बढेपछि अन्यौलमा परेका छन्।  घर फर्कने लर्कोका बीच वायुसेवा कम्पनीले भाडा बढाएको हो। सामान्यतया पर्यटकमा आधारित रहेको मुख्य गन्तव्य पोखराबाहेक सबै रुटको हवाई भाडा चार दिन अगाडिको तुलनामा तेब्बरसम्म बढेको छ।

वायुसेवा सहचालक सङ्घ (आयोन)का अनुसार पछिल्लो तीन दिन यता काठमाडौंबाट बाहिरी विमानस्थल सम्म पुग्ने यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै वायुसेवा कम्पनीले एकतर्फी भाडा बढाएको हो।

सरकारले चैत ९ गतेबाट सार्वजनिक सवारी बन्द गरेर आन्तरिक हवाई सेवा मात्र सुचारु राख्ने निर्णय गरेपछि झनै यात्रुको चाप बढ्ने छ। यसका कारण हवाई भाडा अझ धेरै महँगिने अनुमान गरिएको छ।

अहिले मोफसलका विमानस्थलबाट काठमाडौँ आउने भाडा भने सस्तो छ।  काठमाडौंबाट झापाको भद्रपुरका लागि कम्पनीहरूले शनिबारका लागि औसत ९ हजार रुपैयाँमा टिकट बिक्री गरेका छन्। भद्रपुरबाट काठमाडौँ फर्कने भाडा भने २५ सय देखि ३ हजार रुपैयाँको बीचमा रहेको छ। चार दिन अगाडि काठमाडौंदेखि भद्रपुर हवाई टिकट औसत २५ सयमा बिक्री भएको थियो।

पोखराको औसत टिकट अहिले २ हजार हाराहारी छ। पोखराका लागि बढी यात्रु पर्यटक हुन्। अहिले विराटनगरको औसत भाडा साढे ७ हजार रुपैयाँ रहेको छ।  राजविराजको भाडा ६ हजारभन्दा माथि पुगेको छ। जनकपुरको भाडा करिव ४ हजार हाराहारी पुगेको छ।

भैरहवामा ४ हजारभन्दा माथि भाडा पुगेको छ। नेपालगन्जको भाडा ९ हजार हाराहारी पुगेको छ। धनगढीका लागि भने १० हजार भन्दा बी भाडा लिएर कम्पनीहरूले टिकट काटेको छ।