शेयर बजार दुई साता बन्द

काठमाडौँ। आगामी आइतबार (चैत ९) देखि शेयर कारोबार दुई साताका लागि बन्द हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवाबाहेकको अन्य सेवा बन्द हुने घोषणा गरेसँगै नेपाल स्टक एक्सचेन्जमा हुने कारोबार २१ चैतसम्मका लागि बन्द हुने भएको हो।

प्रधानमन्त्री ओलीले नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यकीय सेवा भनेर तोकिएका बाहेक सेवा २१ चैतसम्मका लागि बन्द गरिने घोषणा गरेका थिए। तर, शेयर कारोबार अत्यावश्यक सेवामा पर्दैन।

यसअघि, शेयर बजारसँग सम्बन्धित सरोकारवालका विभिन्न संस्थाले शेयर कारोबारलाई बन्द गर्न नेपाल धितोपत्र बोर्डसमक्ष अनुरोध गरेका थिए। तर, बोर्डले कारोबार बन्द गर्न नसकिने जवाफ दिएको थियो।

विहीबार कारोबार बन्द हुने हल्ला चले  पछि नेप्से परिसूचक उतारचढाव हुँदै १३.५ अङ्कले बढेर बन्द भएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना खोपः दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक