यातायात व्यवसायीले २०० गाडी थप्ने

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणको त्रासले काठमाडौँ छाड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले आज २ सय गाडी थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुको चाप थेग्न मुस्किल भएकाले बस थप्न लागिएको बताएको छ। सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको हो।

यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनका लागि आवश्यक व्यवस्थापन गर्न सरकार र यातायात व्यवसायीबीच आज बैठक पनि हुँदैछ। बिहान ११ बजे यातायात व्यवसायीसँग छलफल गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।

आवश्यक परे सरकारी गाडीहरू समेत यात्रु ओसार्नका लागि सञ्चालन गर्ने बारे छलफल भइरहेको बताइएको छ। कोरोना सङ्क्रमणको त्रासले सरकारले अत्यावश्यक बाहेकका सेवा दुई हप्ता बन्द गर्ने घोषणा गरेसँगै दशैंकै झल्को दिनेगरी यात्रुहरू काठमाडौंबाट बाहिरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको साढे २४ लाखसहित एक पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ८ सय ८२ यात्रु बाहिरिएका छन्। आज र भोलि यो सङ्ख्या थप बढ्ने यातायात व्यवसायीको अनुमान छ। यसैबीच काठमाडौंबाट पूर्वका विभिन्न जिल्लामा जाने गाडीका यात्रुलाई यातायात व्यवसायीले मास्क र सेनिटाइजर वितरण गरिरहेका छन्।

अरनिको यातायात कम्पनीले यात्रुहरूलाई मास्क र सेनिटाइजरको व्यवस्था गरेको कम्पनीले जनाएको छ। सम्भावित कोरोना भाइरसको सङ्क्रमण हुन नदिई यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनका लागि मास्क र सेनिटाइजरको व्यवस्था गरिएको हो