प्रिमियर लिगको स्थगन अवधि बढ्यो

काठमाडौँ। कोरोना भाइरसको त्रासका कारण इङ्ग्लिस प्रिमियर लिग फुटबलको स्थगन अवधि बढाइएको छ। इङ्ल्यान्ड फुटबल सङ्घ (एफए) ले गरेको पछिल्लो निर्णयअनुसार अप्रिल ३० तारिखसम्म प्रिमियर लिग स्थगित गरिएको हो। प्रिमियर लिगसँगै अप्रिल ३० तारिखसम्म इङ्ल्यान्डमा फुटबलका कुनै पनि गतिविधि हुने छैनन्।

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलने क्रम जारी रहेकाले प्रिमियर लिग स्थगनको अवधि बढाइएको एफएले जनाएको छ। इङ्लिस प्रिमियर लिगका सम्पूर्ण खेल, महिला फुटबल लिग, महिला च्याम्पियनसिपलगायतका सम्पूर्ण प्रतियोगिता अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ’, एफएद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्याण्डमा समेत फुटबलका सम्पूर्ण प्रतियोगिता स्थगित गरिएको छ। कोरोना भाइरसको त्रासका कारण इङ्ग्लिस प्रिमियर लिगको बाँकी खेल के गर्ने भन्ने विषयमा समेत अहिले व्यापक छलफल भइरहेको छ। एफएका केही पदाधिकारी र क्लबहरू ‘लिग लिडर’ लिभरपुललाई विजेता घोषित गर्नुपर्ने पक्षमा छन्।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै

तर, अधिकांश पदाधिकारी र क्लबहरू भने प्रिमियर लिगका बाँकी खेल कोरोना भाइरसको त्रास सकिएपछि पूरा गर्नुपर्ने पक्षमा देखिएका छन्। लिग तालिकामा पहिलो र दोस्रो टोलीबीच देखिएको ठूलो अन्तरका कारण लिभरपुललाई विजयी घोषित गरिए पनि च्याम्पियन्स लिग र युरोपा लिगमा पुग्ने टोलीको टुङ्गो लगाउन समस्या पर्ने देखिन्छ।

यसैगरी लिगको बाँकी खेल हुन नसके रेलिगेसनमा पर्ने टोलीको टुङ्गो लगाउन पनि समस्या पर्नेछ। प्रिमियर लिगमा हालसम्म २९ खेल खेलेको लिभरपुल ८२ अङ्कसहित पहिलो र २८ खेल खेलेको म्यानचेस्टर सिटी ५७ अङ्कसहित दोस्रो स्थानमा छन्। अब लिभरपुलले नौ र म्यानचेस्टर सिटीले १० खेल खेल्न बाँकी छ। यी दुई टोलीबीच २५ अङ्कको अन्तर छ।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

यसैगरी २९ खेल खेलेको लेस्टर सिटी ५३ अङ्कसहित तेस्रो, समान खेल खेलेको चेल्सी ४८ अङ्कसहित चौथो र म्यानचेस्टर युनाइटेड ४५ अङ्कसहित पाँचौँ स्थानमा छन्। त्यसपछिका टोलीबीचको अन्तर पनि निकै कम रहेको छ। अहिलेसम्म बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेसन क्षेत्रमा छन्। तर, त्यसभन्दा माथि रहेको टोलीसँग यी तीनवटै टोलीको अन्तर पनि निकै कम छ। यस्तोमा जुनसुकै टोली पनि रेलिगेसनमा पर्न सक्ने अवस्था छ।

त्यसैले एफएले प्रिमियर लिगको बाँकी खेलका विषयमा हालसम्म कुनै स्पष्ट निर्णय लिइसकेको छैन। हाललाई एफए पनि प्रिमियर लिगको सिजन पूरा गर्ने पक्षमा देखिन्छ।