काठमाडौँ। हल्ला फिजाएर भ्रम छर्ने बेला हैन यो। न त हो सामाजिक सञ्जालमा मनगढन्ते विचारहरू नै पोष्ट गरेर समाजमा आतङ्क सिर्जना गर्ने बेला हो यो।
अघिपछिको कुरै छोडौँ यतिखेर कोरोना नियन्त्रणको लागि सरकारले चालेको कदमलाई साथ दिनु नै बुद्धिमतापूर्ण कार्य हुनसक्छ। सरकारले लागू गरेको निर्देशिकाहरू पालना गरेर सबैले आआफ्नो स्थानबाट सकेको जिम्मेवारी पूरा गर्नुपर्ने देखिएको छ। फलानो अस्पतालमा कोरोनाको कारण फलानोको मृत्यु भयो भनेर अतिरञ्जित गर्ने व्यक्ति र समूहहरूलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्न पर्ने देखिन्छ।
त्यसो त थापाथलीमा रहेको नर्भिक अस्पतालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भयो भनेर हल्ला फिजाएर अफवाहको खेती गर्नेप्रति सजग र चनाखो हुन आवश्यक छ। केटाकेटीहरूलाई कोरोनाको त्रास फैलाउनु भन्दा पनि जानेबुझेका कुराहरू सिकाएर त्रासमुक्त बनाउन आवश्यक रहेको मनोविद्हरूको भनाइ छ। सामाजिक सञ्जालमा आएको हल्ला पूरापूर भ्रमको खेती गर्नेहरू भएको अस्पतालले जनाइसकेको छ।
अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको र एक जनाको मृत्यु भएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलाउने विरुद्ध कडा कारवाही गर्न सकिएन भने यसखाले अफवाह बढ्ने देखिन्छ। नेपालमा अहिलेसम्म कोरोनाबाट कोही पनि सङ्क्रमित नभएको जनाइएको छ। अन्य देशमा फैलिएको कोरोनाको संक्रमणबाट पाठ सिकेर अघि बढ्न सक्नुपर्छ।