अलपत्र २८ नेपाली २४ घण्टापछि नेपाल आइपुगे

काठमाडौँ। दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपालीहरू २४ घण्टापछि नेपाल फर्किएका छन्।  नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि उनीहरू करिब २४ घन्टापछि शनिबार बिहान काठमाडौँ ओर्लेका छन्।

युएईबाट एयर इन्डिया फ्लाइट मार्फत नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरूलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा केही समय रोकेपछि उनीहरु अलपत्र परेका थिए। एयर इन्डियाको लापरबाहीको कारण अनाहकमा दिल्ली एयरपोर्टमा बिचल्ली भोग्नुपरेको उनीहरूको गुनासो रहेको छ।

कोरोना चेक गर्ने भन्दै समय लम्बिएपछि जहाज छुटेको र अहिले नेपाल जान ४० हजारदेखि ६० हजार भारतीय रुपैयाँ तिरेर टिकट काट्नुपर्ने पीडित नेपालीहरूले बताएका छन्।

कोरोना टेस्ट भन्दै कहिले अध्यागमन त कहिले स्वास्थ्य परीक्षण गर्ने ठाउँमा घुमाइएको र अन्ततः जहाज छुटेको अलपत्र परेको उनीहरूको भनाई छ। आफ्ना ट्रान्जिट यात्रुहरू दिल्ली ओर्लेका तीन घन्टा बितिसक्दा पनि एयर इन्डियाले कुनै चासो नदेखाएको पीडितहरूको गुनासो रहेको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु