रियल म्याड्रिडका पूर्व अध्यक्षको निधन

काठमाडौँ। कोरोना आक्रमणपछि रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको ७६ वर्षको उमेरमा निधन भएको छ। कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन्।

रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ति निकालेको छ। रियल म्याड्रिड क्लब यसका अध्यक्ष र सञ्चालक समितिका सदस्य लोरेन्जो सान्जको निधनबाट दुखित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न पनि आग्रह गरेका छ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए। सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफूलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाललाई मलेसियाले दियो ११० रनको लक्ष्य

उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो। दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो।

कोभिड–१९ को महामारीले विश्वभर सङ्कट निम्त्याएका बेला स्पेन सर्वाधिक प्रभावित देशमध्येको एक हो। हालसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना सङ्क्रमित भएका छन् र कुल १३ सय ७८ जनाको मृत्यु भइसकेको छ।