कोरोना शंकास्पदलाई टेकु नपठाउनुस्

काठमाडौँ। अस्पतालहरूले अब कोरोना भाइरसका शंकास्पद व्यक्तिको उपचार व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अब कोही व्यक्ति कोरोनाको शंका लागेर जाँच गर्न आए अस्पतालले त्यसको व्यवस्था गर्नुपर्ने छ।यसअघि नीजि तथा सामुदायिक अस्पतालहरूले कोही व्यक्ति कोरोनाको शंका लागेर जँचाउन आउने बित्तिकै टेकु अस्पताल पठाउने गरेका थिए।यो नियम सुरुमा सय शैयादेखि माथिको क्षमता भएको अस्पतालमा लागु हुनेछ।

यसको सुरुवात सबैभन्दा पहिले सय शैयाको अस्पतालबाट हुन्छ। त्यसपछि सबैलाई लागु हुनेछ। अस्पतालहरूले टेकु अस्पतालमा रिफर गरिएका विरामीहरू सार्वजनिक सवारीबाट जाने गरेकोले थप जोखिम निम्तिएको भन्दै उक्त निर्णय गरेको हो।

मन्त्रालयले सबै निजी अस्पतालहरूलाई कोरोना भाइरसका शंकास्पद विरामीका लागि छुट्टै आइसोलेसन बेड र फिबर क्लिनिक व्यवस्था गर्न निर्देशन दिएको छ।अब अस्पतालहरूले शंकास्पद विरामीलाई आइसोलेसनमा राखेर परीक्षणको लागि घाँटी र नाकको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने छ।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा देशभर थप ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि

साथै कसैलाई संक्रमण देखिए सकेसम्म अस्पतालमै उपचार गर्ने व्यवस्था गर्नुपर्ने र रिफर गर्नुपरे सबै मापदण्ड पुर्याएर एम्बुलेन्समा पठाउनुपर्नेछ।रिफरका लागि  टेकु, पाटन र एपिएफ अस्पताल तोकेका र थप विस्तार गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।

विश्वमा कोरोना भाइरसको संक्रमण देखिन थालेयता मौसमी रूघाखोकीका विरामी आउँदा अस्पतालहरूले सिधैं टेकु अस्पताल जान सुझाउँदै आएका थिए।

अब टेकु अस्पतालमा कोरोना शंकास्पद विरामीको मात्र जाँच हुने बताइएको छ।