विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट १३ हजार ६९ जनाको मृत्यु

एजेन्सी। चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ। विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट १३ हजार ६९ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले आइतबारसम्म सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। जसमध्य ९५ हजार ८२९ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
इटलीले कोरोनाभाइरसका कारण अत्यन्त भयावह अवस्था झेलिरहेको छ।

जहा चार हजार ८२५ जनाले ज्यान गुमाए। कोरोनाको चपेटाका कारण यस देशले दैनिक मृत्युदरलाई थैग्न सकेको छैन। डरलाग्दो रुपमा कोरोना संक्रमण फैलिदो अवस्थामा छ र यो चिन्ताको विषय हुदै गएको छ। शनिबार एकै दिन इटालीमा ७९३ जनाको मृत्यु भएको थियो। हाल ४२ हजार ६८१ जना सङ्क्रमित रहेको इटालीमा ६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले शनिबार राति टेलिभिजनबाट सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै कलकारखाना बन्द गर्न आदेश दिए।करिब ६ करोड जनसंख्या रहेको इटालीमा कोरोनाभाइरसका कारण अहिले युरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  ४ सांसद र संसदका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २६१ जनाको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए। तर चीनमा ७२ हजार ४४० जना निको भएका थिए।

चीनले अपनाएको उच्च सतर्कताका कारण हुबे प्रान्तको राजधानी उहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले सङ्क्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ।

मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ। यहाँ कोरोनाकै कारण एक हजार ५५६ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४१५ जना सङ्क्रमित रहेका छन्। सात हजार ६०० जना उपचारपछि घर फर्किएका बताइएको छ।

स्पेनमा कोरोनाभाइरसको सङ्क्रमणका कारण एक हजार ३८१ जनाको मृत्यु भएको छ। हाल २१ हजार ९९० जना सङ्क्रमित रहेका छन्। जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार सङ्क्रमित रहेका छन्।

अन्य सम्बन्धित समाचार:  पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु

उता अमेरिकामा ३४८ जनाको मृत्यु भएको छ। हाल अमेरिकामा २६ हजार सङ्क्रमित रहेका छन् भने १७८ जनाको उपचार गरिएको छ। फ्रान्समा ५६२ जनाको मृत्यु भएको छ। हाल १२ हजार ३०० भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन्। दक्षिण कोरियामा १०४ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ८८४ जनामा अझै पनि सङ्क्रमण छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण स्वीजरल्याण्डमा ८० जना, बेलायतमा २३३ जना, नेदरल्याण्ड्समा १३६ जना, बेल्जियममा ६७ जना र जापानमा ३६ जनाको मृत्यु भएको छ।

भारतमा हालसम्म कम्तीमा ३३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। छ जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर ननिस्कन आह्वान गरेको छ। दक्षिण एसियाली अन्य मुलुक श्रीलङ्कामा ७७, अफगानिस्तानमा २४, बङ्गलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा दुई जना सङ्क्रमित देखिएका छन्।