उपत्यकामा कोरोनाको जोखिमबाट बच्न प्रहरीको हात धुने व्यवस्था (भिडियो सहित)

काठमाडौँ।  महानगरीय प्रहरी आयुक्त डिआईजी विश्वराज पोखरेलको नेतृत्वमा कोरोनाको जोखिमबाट बच्न उपत्यकाका १६ स्थानमा हात धुने व्यवस्था सुरु भएको छ।

विश्वमा महामारीको रूप लिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि महानगरीय प्रहरीले बढी भीडभाड र जोखिम बढी हुने स्थानहरूमा सर्वसाधारणलाई हात धुन साबुनसहित पानी ट्यांकी राखेको हो ।

पोखरेलको अगुवाईमा माछापुच्छे बैंकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरको बढी भीडभाड हुने स्थानहरूमा पानी ट्यांकी राखिएको हो।

कारोना भाइरसको सन्त्रासमा रहेको नियमित साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग र मास्क लगाउने गरेमा पनि कोरोनाको जोखिम न्यूनीकरण गर्न सकिने विशेषज्ञको रायअनुसार साबुनपानीले हात धुने व्यवस्था गरिएको डिआईजी पोखरेलले बताए।

अन्य सम्बन्धित समाचार:  गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

डिआईजी पोखरेलले बढी भीडभाड हुने स्थानहरू रत्नपार्क, बानेश्वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगञ्ज चोक, शिक्षण अस्पताललगायतका स्थानमा साबुनपानीले हात धुने व्यवस्था गरिसकेको बताए।