सुर्खेतमा भीडभाड हुने कार्यालय बन्द

सुर्खेत। कोभिड–१९ को सम्भावित जोखिमबाट सुरक्षित रहन बढी भीडभाड हुने कार्यालय बन्द हुन थालेका छन्से वाग्राहीको भीडका कारण सङ्क्रमण फैलिन सक्ने भन्दै सुर्खेतस्थित आन्तरिक राजश्व कार्यालय बन्द भएको छ।कार्यालयका कर अधिकृत हिक्मत सुनारले केन्द्रको निर्देशनानुसार चैत २१ गतेसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिए।

उच्च सतर्कता अपनाउनकै लागि कार्यालयको सेवा बन्द गर्नुपरेको उनको भनाइ छ।  यसैबीच कर्णाली प्रदेश सरकारले समूहमा हिँड्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा आज बसेको कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय अनुगमन समितिको बैठकले सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन दिएको हो।

बैठकले विशेष परिस्थितिबाहेक अन्य काममा भेला नहुन आम नागरिकलाई आग्रह गरेको छ। मन्त्री भण्डारीले बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई तत्काल कारवाही तथा प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

अन्य सम्बन्धित समाचार:  सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा