बढी भाडा लिएर टिकट बेच्ने २० जना कारबाहीमा

काठमाडौँ। मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आइतबार कारबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरुलाई कारबाही गरिएको बताए। तीनदिनमा ४६ जनालाई यसरी कारबाही गरिसकिएको छ।

यसअघि शनिबार १७ जनालाई र शुक्रबार नौ जनालाई कारबाही गरिएको थियो। ट्राफिक प्रहरीको हटलाइन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो। उनीहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशालाबाट पक्राउ गरिएको हो।

उनीहरुले एउटै टिकट दुई जनालाई बेच्ने गरेकोसमेत पाइएको छ। कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिने र यात्रु बस्ने लाममा बसी टिकट मागेर श्रव्यदृष्य रेकर्ड गरी कानुनको दायरामा ल्याउने गरेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु