कोरोना भाइरस : सचेतना अभियानमा कलाकारहरू

काठमाडौँ। कलाकारहरुले घरमै बसेर कोरोना विरुद्ध सुरक्षित रहन सामाजिक सञ्जालमार्फत भिडियो अपिल जारी गरेका छन्। चलचित्र उद्योगका सम्पूर्ण गतिविधि बन्द भएपछि आफूहरू घरमै सुरक्षित रहेको कलाकारहरुले बताएका छन्।

प्रदीप खड्का
अभिनेता प्रदीप खड्काले आइतबार एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन अपिल गरेका छन्। विश्वव्यापी रूपमा कोरोनाको सङ्क्रमण हटेपछि आफूहरूले चलचित्रको रिलिज गर्ने बताउँदै सरकारको निर्देशनबमोजिम अहिले घरमै बस्न यी अभिनेताले भिडियोमार्फत सबैलाई आह्वान गरेका छन्।

दीपाश्री निरौला
अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले भिडियोमार्फत सबैलाई घरमा बस्न आह्वान गरेकी छिन्। आइतबार उनले एक भिडियो अपिल सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अनुरोध गरेकी हुन्। अहिलेको समय आफू पनि जोगिने र अरूलाई पनि जोगाउने समय भएकाले कत्ति पनि लापरबाही नगर्न उनको अनुरोध रहेको छ।

दीपकराज गिरी
हास्यव्यङ्ग्य अभिनेता दीपकराज गिरीले एक भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै सबैलाई कोरोना भाइरसको उच्च जोखिमबाट आफूलाई सुरक्षित राख्न आह्वान गरेका छन्। यस्तो अवस्थामा हामीले घरमै सुरक्षित बसेर आफूलाई सुरक्षित राख्नुका साथै सरकारको यो अभियानलाई साथ दिनुपर्ने अनुरोध पनि अभिनेता दीपकराज गिरीले गरेका छन्।

अन्य सम्बन्धित समाचार:  पूर्वमन्त्री पहाडीको कोरोनाबाट मृत्यु

सीताराम कट्टेल, कुन्जना घिमिरे, कुमार कट्टेल
भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गरिरहेका सीताराम कट्टेल (धुर्मस), कुन्जना घिमिरे (सुन्तली) र कुमार कट्टेल (जिग्री)ले संयुक्त रूपमा एक भिडियो मार्फत अपिल गरेका छन्। मुलुकमा कोरोना सङ्क्रमणका सम्भावना उच्च रहेकाले आफूहरूले रङ्गशालाको निर्माण स्थगित गरेको बताएका छन्। यी तीन कलाकारले आइतबार संयुक्त भिडियो अपिल सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अहिलेको अवस्थामा सबैलाई घरमै सुरक्षित रहने आग्रह गरेका छन्।

विल्सन विक्रम राइ
हास्य कलाकार विल्सन विक्रम राईले पनि घरमै बसेर सामाजिक सञ्जालमा भिडियो सन्देश सम्प्रेषण गरेका छन्। अहिलेको अवस्थामा सम्पूर्ण काम छाडेर घरमै सेल्फ क्वारेन्टाइनमा सुरक्षित बस्नुपर्ने उनको अनुरोध छ।

अन्य सम्बन्धित समाचार:  सरिता र काकुलाई पनि कोरोना संक्रमण पुष्टि

करिश्मा मानन्धर
अभिनेत्री करिश्मा मानन्धरले आइतबार एक भिडियो सार्वजनिक गर्दै कोरोनाको सङ्क्रमणबाट बच्न अरूसँग भेटघाट बन्द गरेर घरमै बस्न सबैलाई आह्वान गरेकी छिन्। ज्यानभन्दा ठूला कुरा केही नभएकाले यतिबेला सबैले आफूलाई सुरक्षित राख्नुपर्ने उनको अनुरोध रहेको छ।

ऋचा शर्मा
अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रस्तुत भएर कोरोना विरुद्ध दर्शकलाई सुरक्षित रहन अपिल गरेकी छिन्। सरकारले अहिले जनहितका लागि जारी गरेको सूचनालाई पालना गर्ने सबैलाई अपिल गरेकी छिन्।

निता ढुङ्गाना
अभिनेत्री निता ढुङ्गानाले आफू घरमा सुरक्षित रूपमा सेल्फ क्वारेन्टाइनमा रहेको बताएकी छिन्। उनले अरूलाई पनि घरमै रहन अनुरोध गरेकी छिन्। अत्यावश्यक कामले घरबाहिर जाँदा कसैलाई नछुने, भीडबाट टाढा रहेन, मास्क लगाउने, घर फर्किएपछि साबुन पानीले राम्ररी हात धुने, सेनिटाइजर हातमा लगाएर हात सफा गर्ने जस्ता जनहितको सन्देशलाई यी अभिनेत्रीले आफ्नो भिडियो अपिल गरेकी छिन्।