अन्य मुलुकबाट भित्रिएका सबैलाई १४ दिन क्वारेन्टाइमा राखियोस् : बडू

काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्र प्रसाद बडूले कोराना भाइरसको संक्रमण रोक्न सरकार र नागरिक स्वयंका लागि भन्दै ८ बुँदे सुझाव र अनुरोध गरेका छन्।वर्तमान अवस्थामा नेपाल सरकार र नागरिक सबैले गर्नु गराउनु पर्ने एक मात्र काम “संक्रमण हुन नदिउँ र सक्रमितको प्रभावकारी उपचारको व्यवस्था गरौँ।” भन्दै सामाजिक सञ्जाल मार्फत उनले सुझाव र अनुरोध गरेका हुन्।

नेपाली काग्रेसका नेता समेत रहेका बडूले यतिबेला आफूले गर्दै आइरहनु भएको नियमित राजनीतिक भेटघाट पातलो गरेका छन् भने अत्यावस्यक सम्पर्क टेलिफोन र ईन्टरनेटबाटै गर्दै आईरहनुभएको छ।

यस्ता छन् उनले नेपाल सरकार र नागरिक स्वयंका लागि प्रस्तुत गरेका सुझाव र अनुरोध :

१. अनिवार्य काम बाहेक सके सम्म घर बाहिर न-निस्केर आ-आफ्नो घरमा सेल्फ क्वारेन्टाइन मा बसौं। अत्यावश्यक बाहेकका भेटघाट कम गरि, बैकल्पिक रूपमा टेलीफोन/मोबाइल, इन्टरनेट/अनलाइनबाट सम्पर्क राखौं । इन्टरनेटमा विश्वव्यापी प्रयोगका कारण बोझ बढेकाले, सरकारबाट यी बैकल्पिक माध्यम, विशेष गरि मोबाइल कल/ एस.एम.एस. सेवामा सहुलियतको व्यवस्था होस्।

२. क्वारेन्टाइनको व्यवस्था सम्बन्धमा, अन्य मुलुकबाट भित्रिनेहरु सबैलाई सरकारबाट नै व्यवस्थित गरिएको क्वारेन्टाइनमा १४ दिन अनिवार्य राखेर मात्र परिवारजन सित भेट्ने व्यवस्था गरियोस्।

अन्य सम्बन्धित समाचार:  एमालेको स्थायी कमिटी बैठकमा के—के भयो छलफल?

– छिमेकी मुकुल भारतबाट प्रवेश गरेका नेपालीहरू, विशेषगरि सुदुरपश्चिमका नाकाहरुबाट प्रवेश गर्ने नेपालीहरूको व्यवस्थापनको हकमा सरकार चुकेको देखियो। तसर्थ यस विषयमा, सरकारद्वारा व्यवस्थित १४ दिने अनिवार्य क्वारेन्टाइन पछि मात्र परिवार संगको भेट गर्ने व्यवस्थामा सबै तहका स्थानीय सरकारले संबेदनशिलता सहित विशेष ध्यान दिऔं।

-आधिकारिक तथा अनिधिकृत नाकाहरुबाट सिधै घर पुगेकाहरु र सार्वजनिक यातायात बन्द भएका कारण हाल बाटोमा अलपत्र परेकाहरू समेतका सन्दर्भमा स्थानीय सरकारका वडातह समेतका जनशक्तिलाई परिचालित गरि स्वास्थ्य जाँच गराउने तथा क्वारेन्टाइन मा राख्ने र संक्रमितहरुलाई तत्काल स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्थाका लागि प्रदेश र संघीय सरकार संग समन्वय गरी सरकार प्रयाप्त जनशक्ति र साधन श्रोतका साथ तत्काल नै कृयासिल हुन जरूरी देखिन्छ।

३. निश्चित अवधिकालागि छिमेकी देशसंग जोडिएका सबै स्थल नाका लगायतका अन्य सबै देशहरुको हवाई उडानहरू र देश भित्रका लामो दुरीका यातायातबाट आवत जावत पूर्णत: बन्द गर्ने सरकारको निर्णयलाई सबैले पालना गरौँ र सहयोग गरौँ।

– तथापी यस्ता निर्णयबाट घर पुग्न नपाई बाटोमा अलपत्र परेकाहरूको हकमा सहजताका लागि सरकारले उपरोक्त आवश्यक व्यवस्था गरोस्।

४. कोरोना नियन्त्रणका लागि क्रियाशील सरकारका सम्बन्धित सबै अंग र संस्थाहरूमा पूर्ण विश्वास गरौँ र विश्वस्त रहौं । सरकारले पनि पूर्ण सकृयता र सतर्कतापूर्वक हरेक क्षण परिस्थितिको मसिनो अध्ययन, अनुगमन र विश्लेषण गरि जाँच/उपचार सामग्री र प्रभावकारी उपचारको व्यवस्थापनमा कुनै कसर बाँकी नराखी तयारी अवस्थामा रहने व्यवस्था गरोस्।

अन्य सम्बन्धित समाचार:  ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

५. अनिधिकृत र अप्रमाणित हो-हल्लाबाट बच्न र बचाउनका लागि सरकारले नै हरेक दिन एक-द्वार प्रणालीबाट आधिकारिक सूचना दिएर जनतालाई परिस्थितिबारे सुसुचित गर्ने प्रबन्ध अनिवार्य गरियोस् । सबै नागरिकले सहि सूचनाको जानकारी लिऔं र संप्रेषणमा सहयोग गरौँ।

६. कुनै किसिमले होतोत्साहित नभई पूर्ण संयमता पूर्वक प्रशन्नमन मस्तिष्कका साथ परिस्थितिलाई सहज बनाउने कार्यमा जुटौं । संक्रमण हुन नदिन, फैलिन नदिन स-परिवार घर भित्र बसौं, एक-आपसमा सकारात्मक विचार, विमर्श गरौँ।

७. संकटको यस अवस्थाको दुरुपयोग गरी कृतिम अभाव सृजना गर्ने वा कालोबजारी गर्नेहरुका प्रति सरकार कडाइका साथ प्रस्तुत होओस् र सर्वसाधारण तथा नागरिक समाजले यस कार्यमा सहयोग गर्न तयार रहौं।

८. संकटको यस घडीमा हामी सबैले आफ्नो नागरिक दायित्व निर्वाह गर्दै यस विषम परिस्थितिको सामाना गरौं, देश भित्रको सामाजिक सद्भाव र राष्ट्रिय एकता थप सुदृढ गरौँ।