मङ्गलबार देखि जनकपुरधाम बजार बन्द, कैलालीमा निषेधाज्ञा

धनुषा। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी मङ्गलबार देखि जनकपुरधाम बजार बन्द हुने भएको छ। जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष जितेन्द्रप्रसाद साहका अनुसार कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी सङ्घद्वारा सो निर्णय गरिएको हो। मङ्गलबारदेखि चैत १६ गते आइतबारसम्म बजार बन्द रहने जनाइएको छ। सङ्घको निर्णयमनुसार सो अवधिमा अति आवश्यक वस्तुका पसल खोलिए पनि अन्य पसल पूर्णरूपले बन्द रहने छ।

कैलालीमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कोरोनाको सङ्क्रमण फैलिन नदिन कुनै पनि गतिविधि हुन र गर्न नदिने गरी जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ। कार्यालयले आज जारी गरेको सूचनामा कैलाली जिल्ला कोरोनाको सम्भावित सङ्क्रमणको उच्च जोखिममा रहेको परिप्रेक्ष्यमा यसको सम्भावित सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिन नेपाल राजपत्रले तोकेका अत्यावश्यकबाहेकका अन्य सेवा आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐनअनुसार नगर्न नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ। उक्त आदेशको उल्लङ्घन गर्नेलाई कानूनबमोजिमको कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ।