कोरोना भाइरस : इटालीमा २३ डाक्टरको मृत्यु 

काठमाडौँ। इटालीमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको उपचारमा खटिएका २३ डाक्टरको मृत्यु भएको चिकित्सकहरूको महासङ्घले जनाएको छ।

कोभिड–१९ महामारीको बेला ज्यान गुमाउने डाक्टरहरूको सूची लामो हुँदै गएको छ। मृत्युको कारण सीधै कोरोना भाइरससँग नजोडिएपनि थुप्रै डाक्टरले अचानक ज्यान गुमाइरहेको महासङ्घले जनाएको छ।

ज्यान गुमाउने २३ मध्ये १९ जना डाक्टर लोम्बार्डी क्षेत्रका हुन्। अन्य चार जना नेपल्स, एमिलिया रोमाग्ना र मार्चेका हुन्। इटालीमा भाइरसबाट ४ हजार ८ सय २४ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्।

कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुक इटाली हो। सो देशमा सङ्क्रमितको सङ्ख्या ६० हजार नजिक पुग्दा ५ हजार ४ सयभन्दा धेरैको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  अक्सिजनको चरम अभाव: बेलझुण्डीमा आठको ज्यान गयो