नाकामा अलपत्र परेका नेपालीलाई प्रवेश दिइने

काठमाडौँ। कोरोना सङ्क्रमणको सन्त्रास पछि भारत र चीनतर्फका सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश भित्रिन दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वको समितिले नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश आउन दिने निर्णय गरेको हो।

यसरी आउँदा अलपत्र परेका व्यक्तिले आफू नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र पेस गर्नुपर्नेछ भने उनीहरूले स्वास्थ्य जाँचपछि मात्रै प्रवेश पाउनेछन्।  यसरी नेपाल भित्रिएपछि पनि उनीहरू १४ दिनसम्म सरकारले तोकेको क्वारेन्टाइनमा सुरक्षित रूपमा बस्नुपर्नेछ।

सरकारले सोमबार बिहान १० बजेदेखि चीन र भारत दुवैतर्फ यात्रु आगमन रोक्ने गरी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको छ। सरकारको सो निर्णयपछि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्नेहरू सीमा नाकामा आएर बसिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर नौ वर्षमुनिका २१३ बालबालिकामा कोरोना संक्रमण

सरकारले यसरी आउनेहरूलाई कोरोना सङ्क्रमणको रोकथामका लागि निर्माण गरिएका देशभरको क्वारेन्टाइनमा राख्नेछ। क्वारेन्टाइनमा बसेका बेला उनीहरू सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको निगरानीमा रहनेछन्।