गौरिफन्टा नाकामा तनाव, प्रहरीमाथि ढुङ्गामुढा 

कैलाली। सरकारले मङ्गलबार बिहान ६ बजेबाट देशैभर लक डाउनको घोषणा गरेको छ। आवत जावत र हिँडडुलमा कडाइ गरेको छ। यसैबीच कैलालीको गौरिफन्टा स्थित नेपाल भारत नाकामा तनाव सिर्जना भएको छ। मङ्गलबार बिहान करिब ५ सयको सङ्ख्यामा भारतमा रहेका नेपालीहरू नेपाल प्रवेश गर्ने प्रयास गरेपछि स्थिति असहज बनेको हो।

कामका सिलसिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरू घर फर्कन मङ्गलबार बिहानै नाकामा जम्मा भएका थिए। उनीहरूलाई सीमामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नेपाल प्रवेशमा रोक लगायो।

उनीहरूले नेपाल छिर्न दिनुपर्ने माग गर्दै नारा जुलुस गरे। प्रहरीमाथि ढुङ्गामुढासमेत गरे। उनीहरु मोहना खोलामा हामफालेर नेपालतर्फ तर्ने प्रयास गरे। प्रहरीले उनीहरूलाई प्रवेश गर्न दिएन।

अन्य सम्बन्धित समाचार:  भक्तपुरमा बजार अनुगमन

अहिले उनीहरु कञ्चनपुरको डोकेबजार स्थित नेपालतर्फको दशगजा क्षेत्रमा प्रवेश गरेका छन्। प्रहरीले उनीहरूलाई घेरा हालेर राखेको छ।  उनीहरूलाई कुन कुन जिल्ला को हो भनी सूची बनाउन प्रहरीले आग्रह गरेको छ। को कुन जिल्लाको हो सम्बन्धित जिल्लाका अधिकारीसँग समन्वय गरी फर्कने व्यवस्था गरिने भन्दै प्रहरीले माइकिङ गरी सम्झाई बुझाई गरिरहेको छ।

खानेकुराको व्यवस्था प्रहरीले गरिदिने भन्दै आश्वस्त पारिरहेको छ।