अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुस्, कैद हुनसक्छ

काठमाडौँ। नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ। साथै देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ।

काठमाडौँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो। लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ।

यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ। मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ। उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन्।

अन्य सम्बन्धित समाचार:  डब्ल्यूएचओले स्वीकार गर्यो– कोरोना भाइरस हावाबाट सर्छ

लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ। स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन्। यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ। यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन्।