अलपत्र नेपालीलाई स्वदेश फर्किन दिन माग गर्दै सर्वोच्चमा रिट दर्ता 

काठमाडौँ। विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्किन दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयले थुप्रै नेपाली विदेशमा अलपत्र परेको भन्दै सरकारको उक्त निर्णयका विरुद्ध अधिवक्ता मीना बस्नेत र माधव बस्नेतले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

नेपाल आउने आफ्ना नागरिकलाई निषेध नगर्न रिटमा माग गरिएको छ। विपद्को बेलामा आफ्ना नागरिक खोजेर उपचारलगायतको व्यवस्था गर्नुपर्नेमा प्रवेश गर्न नदिनु गलत भएको भन्दै रिट दर्ता भएको जनाइएको छ। सरकारी निर्णयले विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन भएको जिकिर रिटमा गरिएको छ।

विभिन्न निकायले आइसोलेसन एकान्तवासको लागि सुरक्षित स्थान बनाइरहेको, होटल व्यवसायी, सङ्घसंस्था र नागरिकले सरकारलाई सहयोग गरी होटल, भवन तथा निवास दिई सहयोग गर्ने प्रतिवद्धता जनाएको बेला विदेशमा रहेका नेपालीलाई आउन दिनुपर्ने रिट निवेदकको माग छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा थप दुई जना संक्रमतिको मृत्यु